Thursday, October 8, 2009

जलवायु परिवर्तन र वढ्दो विश्व तापमान – नेपाली किसानलाई खतराको घण्टि

भरत चिन्तन
दिलसराका पति सुकवहादुर लुङ्गेलीका आफ्ना तिन जना लालावाला सन्तान सहित कल्कलाउंदो उमेरकी श्रीमतीलाई छाडेर विदेशीएको पनि सांढे दुईवर्ष भईसकेछ । वढ्दो विश्व तापमानले पारेको पर्यावरणीय असर स्वरूप हिमाली मुलुक नेपालमा विकसीत सुख्खा हिउंद र अनिश्चित मनसुनका कारण मुलुकमा विगत तिन वर्षदेखी खेतिपाती राम्रो भएको छैन । आफ्नो भएको थोरै जग्गावाट आएको उव्जनीले परिवारलाई दुईछाक धान्न समेत मुस्किल परेकाले सुकवहादुर विदेशीनु परेको हो ।
नेपालका अधिकतम किसान परिवार आकाशे पानीकै भरमा आफ्नो परिवारलाई आवश्यक पर्ने कृषि उत्पादन गर्दै आएका छन् । तर, अव मौसमको यस्तै अनिश्चत अवस्था रहने र खाद्यअसुरक्षाको स्थितीपनि कायमै रहने हो भने सुकवहादुर मात्र होईन, नेपालका ९५ प्रतिशत किसान परिवारले वैकल्पिक पेशाको रुपमा वैदेशीक रोजगारलाई अंगाल्नुको कुनै विकल्प देखिंदैन । यो अहिले मुलुकको विकराल तर तितो यथार्थ हो ।
मध्यपहाडी तथा तराईका नदीकिनारका वस्तिहरु असमयको वर्षा र वाढीपहिरोका कारण प्राकृतिक प्रकोपको कहालीलाग्दो चपेटामा परेका छन् भने सिंगो मुलुककै ४० प्रतिशत भन्दा वढी किसान परिवार यस्तो जोखिमपुर्ण क्षेत्रमा वसोवास गरिरहेका छन् । विशेषगरि उच्च तथा मध्य पहाडी क्षेत्रमा रहेका यस्ता परिवार तत्काल जल जमिन र जंगल जस्ता प्राकृतिक श्रोतको सुविधाप्राप्त गरिरहेका ति क्षेत्र छाडि तत्काल अन्यत्र जानसक्ने अवस्थामा पनि छैनन् । मौसममा हुने सानोमात्र उतारचढावले नै तिनको उव्जनिमा ठुलो अन्तर ल्याईदिने भएकाले यस्ता प्राकृतिक प्रकोपवाट सवभन्दा वढी पिडीत हुनेपनि तिनीहरुनै छन् । यसकारण सरकारले प्रकोप नियन्त्रणको प्रभावकारि कदम तत्काल नचालेमा त्यस्ता जोखिमपुर्ण क्षेत्रमा जिवन यापन गरिरहेका परिवारले निकट भविश्यमै भयानक खाद्य अभावको सामना गर्नुपर्ने देखिन्छ ।
परिवर्तित मौसमका कारण खेतिपातीमा पर्न गएको असरले कतिपय निम्न मध्यम वर्गिय किसान परिवारमा खाद्यान्न अभाव हुन थालीसकेको छ । कति परिवार त यसै कारण गाउं छाडी वैकल्पिक पेशाको खोजीमा विस्थापीत भएका छन् । "पानी पर्न छाडि'गो, उव्जनीले खान नपुग्ने भए'सी उहां कतारतिर लाग्नु'भो, छोराछोरी पनि हुर्कन थाले पढाउनै पर्‍यो, पैसो नभै' केहि नहुंदो रै'छ, गाउंमा वसेर मात्रै के गर्नु र ?" दिलसरा भन्छिन् - "खडेरिले नजिकको मुलपनि सुक्यो, खानेपानी ल्याउन दुईतिन घण्टा लाग्ने, मरि मरि काम गर्‍यो खानै धौ । अहिले वल्ल सुविस्ता भा'को छ ।"
पति विदेशीईसकेपछि सुकवहादुरको गांउमा भएको पुर्ख्र्यौली जमीन पनि वांझै छाडिएको छ, दिलसरा छोराछोरी लिएर दमौली वजारमा झरिसकेकी छिन् । उनका दुई छोराछोरी त्यहिं एउटा निजी विद्यालयमा पढ्दै छन् भने कान्छी छोरी सानै भएकाले आमासंगै वस्छिन् । दिलसरालाई अहिले खानलाउन कुनै समस्या छैन, गाउंवेसी कुटोकोदालो गर्नुपरेको छैन, त्यसैले पानी परेपनि नपरेपनि उनलाई खासै वास्ता हुन छाडिसक्यो । उनि पसलवाट उधारोमा सामान ल्याउंछिन्, श्रीमानले पैसा पठाएपछि तिर्छिन् । आजभोली खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा भएको अस्वाभाविक मुल्यवृद्धिका कारण दिलसरा जस्तालाई तत्काल कुनै असर नपरेको जस्तो देखिएपनि यसले उनको चिन्ताको क्षेत्र भने अलि विस्तार गरिदिएको छ ।

No comments:

Post a Comment