
खगेन्द्र संग्रौला
नोभेम्बर १, बिहान ९ बजे । जीवन-सतहबाट राजधानी दोहाको चमक-धमक र सोख-विलास अनि नेपालीहरूको दिनचर्याको झलक सर्सरी हेरेपछि दोहाबाहिर फैलिएको मरुभूमि नजर गर्न हामी निस्क्यौँ । हाम्रो यात्रा दोहाको पश्चिमतिर उन्मूख भयो । अगाडि सारथीको आसनमा स्टियरिङ समातेर दीपक भेटवाल बसेका छन्, पछाडि अर्जुनको आसनमा बसेका छन् देवेन्द्र भट्टराई । म सारथीको बायाँतिर छु । मरुभूमि जगत्को जानकारीमा ती दुई भाइ निकै नै पोख्त छन् । तिनले केही आपै+m भोगेर सिकेका छन्, केही जान्नेसुन्नेहरूबाट सुनेर । अहिले म ध्यानमग्न चेलाको मुद्रामा तिनबाट मरुभूमि जगत्को यथार्थको बाह्राखरी सिकिरहेको छु ।
'यो तपाईँका एक आँतका मितज्यू कुन्साङ वाइबाले काम गर्ने पेट्रोल पम्प हो,' बायाँतिर औंल्याउँदै देवेन्द्र भन्छन् । पेट्रोल पम्पपछाडि देख्छु, थोरै भिरालो भूमिमा गाडीहरूको सानोतिनो आमसभा नै छ ।
'त्यो के हो, कान्छा ?'
'त्यो मिति पुगेका गाडीहरूलाई डम्प गर्ने साइट हो, सर ।' 'गाडी नयैँ देखिन्छन् त, बाबु ।'
'नयाँ-पुरानोको परिभाषा यतातिर फरक छ, सर । नयाँ मोडेलको गाडी आइपुग्यो कि छँदा-खाँदाको गाडी यस्सै
पुरानो भइहाल्यो ।'
'अनि ?'
'अनि छन्छनी नखत गनेर नयाँ किन्यो, कबाडीको दर्जा दिएर पुरानो मिल्कायो । चुल्बुले केटाकटीले सस्ता गुडिया फेरेजस्तो । यो यस भेगको विलासको एउटा फजुलखर्ची कथा हो, सर ।'
म मुन्टो हल्लाउँदै पूर्व तानाशाह ज्ञानेन्द्र शाहको भाकामा भन्छु- 'मैले बुझेँ ।' सडकका दुईतिर फाट्टफुट्ट पातला पात भएका पोथ्राहरू गाडीको वेगमा पछिल्तिर हुइँकिन्छन् । मैले पढेको भूगोलको उजाड र निरस मरुभूमिमा सर्वत्र आँखा तिर्मिर पार्ने बगरको अपार विस्तारबाहेक केही थिएन । अहिले त्यही मरुभूमिमा वृक्षको दर्शन गर्न पाउँदा मेरो मन त्यसैत्यसै रोमाञ्चित हुन्छ । सडकको दायाँ-बायाँका कुनै-कुनै घरका पर्खालभित्र पनि रूखहरू देख्छु । दीपक बुझाउँछन्- 'घरछेउ रूख देखे कुरो बुझे हुन्छ, सर, त्यो शेखको घर हो ।'
'अनि शेख के हो नि, सारथीबाबु ?'
'शेख भनेको महाजन होे, सर । हाम्रोतिर धनीमानी मुखिया भन्यास्तो क्या ।' केही पर बायाँतिरै आँखाले नभ्याउने गरी फैलिएको अग्लो न अग्लो पर्खालकोे घेराभित्र रमितलाग्दो वन र वनको बीचमा अजंगका भवनहरूमा गएर मेरा आँखा थुरिए ।
'अरे यार, यो अग्निमय तप्त मरुभूमिमा यत्रो वनको उत्पत्ति कसरी भयो ?'
देवेन्द्र परिपाठ लाउँछन्- 'यो राजाको दरबार हो, सर । र, यो वन राजसी सानको प्रतीक हो । दरबार परिसरभित्रको वनका ती रूखहरूलाई पैसाको खोलोमा पैदा भएका गोल्डेन ट्राउट जातका माछा भने पनि हुन्छ, सर ।'
'ताल नारायणहिटी दरबारकै जस्तो रहेछ,' स्वस्फुर्त टिप्पणी मेरा चञ्चले ओठबाट चिप्लियो- 'उस्तै एकलास । उस्तै विलास । उस्तै रवाफ । कि कसो, कान्छा ?' 'उस्तै मति र मिजास हुनेहरू जहाँ पनि उस्तै हुन्छन् । कि कसो, सर ?' दीपक केही समयको अन्तरालमा मानौँ, कुनै भयावह अनिष्टको चेत पाएर आतंकित भएभै+m गाडी घ्याच्च रोक्छन् । समतल भूमिको एकतर्फी सडक आँखाले भ्याउन्जेलसम्म फुक्काफाल खुला छ । आँखा फारेर हेर्छु, अनिष्ट निम्त्याउने अल्झो दृष्टिको दूरीभरि कतै गोचर हुँदैन ।
'हे श्रीकृष्ण ! के गरेको हो यो ?'
'अगाडि भिडियो क्यामेरा छ, सर । त्यसले गाडीको गति रेकर्ड गर्छ ।'
दीपकवाणीबाट कुरा बुझेँ- कहिल्यै नथाक्ने, कहिल्यै नझकाउने र कहिल्यै ननिदाउने चतुर र सूक्ष्म दृष्टि भएका भिडियो क्यामेराहरू सडकको चौकीदारी गर्न ठाउँ-ठाउँमा जडान गरिएका रहेछन् । तिनले रिपोर्ट गरे कि दुर्दशाका पल्टनहरूले घेराउ गरिहाल्ने । तिनले गाडीको गतिमा अगति देखाए आँखाका चालले एक थैलो जरिमाना बुझाउनुपर्ने । जाँदा-जाँदै दाहिनेतिर पर, निकै पर अकाशको बीचसम्म उठेको खम्बाका टुप्पामा केही दूरीमा तीनवटा अग्निज्वाला दन्दनी बलिरहेका देखेँ । कण, के हो त्यो आकाश-दीप ? यहाँनेर भने मेरा जानिफकार कणहरू अलमल्ल परे । भने- खै, थाहा छैन, सर । ज्यानले देखेदेखि अखण्ड दीपभै+m यी यसैगरी बलिरहेका छन् । तर, यी के हुन् सोधखोज कहिल्यै गरिएन । खै, सतहमुनिको तेल-सागरबारे पो यिनले केही सुराकी दिँदा हुन् कि !
मेरो पेटमा बिहानभरिको चार कप कफीको टनाटन कूप थियो । कूपको तीव्र अधोगतिले धक्का दिँदा मलाई सुले च्याप्यो । यो धैर्यहीन सुलाई बगरमा कतै सेलाउन अलिबेर गाडी रोकौँ कि, कण ? 'मिल्दैन सर,' सारथीको सतर्क वचन सुनेर म जिल्ल परेँ । सेरोफेरोमा नजिकै न बस्ती छ न कतै अमर्यादित दृश्य देख्ने सुसंस्कृत दृष्टिहरू नै छन् । आखिर किन मिल्दैन, यार ? 'कतारको नियमले मिल्दैन, सर । क्यामेरामा पक्राउ परियो भने लाजमर्नु हुन्छ । घोक्रेठ्याक लगाएर सोझै नेपाल चलान गर्न कत्ति बेरै लाग्दैन ।'
सुरक्षाको कठोर नियमले ङ्याकिँदै सुलाई अदपमा राखेर औद्योगिक क्षेत्र रसलाफानको सेक्युरिटी चेकमा पुगियो । दीपकले चनाखो हुँदै चेकदेखि निकै यता गाडी रोके । मेरो पासपोर्ट लिएर बायाँतिरको चेक टेबुलमा रिपोर्ट गर्न गएका उनी लगत्तै फर्किहाले । 'सर, तपाईँले आपै+m हाजिर हुनुपर्ने भो,' किञ्चित् अताल्लिएको स्वरमा उनले भने । उनको पछि लागेर म लखुर-लुखुर चेककर्मीछेउ हाजिर भएँ । चेककर्मीले पासपोर्टको फोटोसित मेरो अनुहार रुजु गरिहेर्दै भने- 'ओके, गो ।' तिनले मलाई स्वागतमय स्वीकृतिको लयमा एक चिम्टी मुस्कान पनि प्रदान गरे ।
'थ्याङक्यु, सर ।'
'युु आर वेलकम ।'
सेक्यरिटी चेकको छेवैमा बाग्लुङे मित्रलाल गौतम भेटिए । ज्यानको ढपढाँचा र स्वरको घनत्त्वका हिसाबले ती गौतमको काया-कलेवरमा अलि साना काँटीका बामदेव गौतमको स्वरूप मैले देखेँ । तिनको र दीपकको चिनारीको कथा बडो हाँसउठ्दो रहेछ । रसलाफानतिर घुम्न जाँदा दीपक सुरक्षित चर्पीमा सुची गर्ने सुरले लुसुक्क तिनको होटलमा पसेछन् । आखिर वामदेव गौतमका लघु रूप न परे, होटलमा केही नखाई मित्रलालजी चिन्नु न जान्नुको जीवात्लाई त्यति सजिलै किन दिन्थे चर्पीमा पाइला टेक्न ? जाऊ न मरुभूमितिर भनेर ती टकटकिएछन् । थोरैतिनो खान्की अर्डर गरेपछि बल्ल पो तिनले मस्किँदै चर्पीको चाबी टक््रयाएछन् । आखिर यो फगत लिनु र दिनुको स्वार्थमा अडेको बनियाँ काजीहरूको राज चलेको विश्व न हो !
अब सुरु भयो मित्रलाल महात्म्य । स्वभावले फरासिला र बात मार्न खुबै जाँगरिला मित्रलाल कठोर संघर्षका अनेक कुइनेटा पार गर्दै भारतबाट फड्को मारेर सपनाको इन्द्रेनी बुन्न कतारतिर हेलिएका रहेछन् । 'भारतमा निकै वर्ष लाहुरको जागिर खाएँ,' आपmनै कुरामा आनन्दित हुँदै तिनले आपmनो लगनशील कथाको पन्तुरो फुकाए । सुनेको थिएँ- ठूला वामदेव गौतम पनि एकाध वर्ष भारतमा बन्दुकधारी लाहुरे भएका थिए रे ।
'बन्दुकधारी लाहुरे ?' साना वामदेवलाई मैले प्वाक्क सोधेँ ।
'नाइँ, नाइँ,' ढ्याके नाक निमोठ्दै तिनले भने- 'दरबानी लाहुरे क्या, दरबानी लाहुरे । यति नाथे कुराको अनुमान गर्न पनि नसक्ने मान्छे केको खगेन्द्र संग्रौला ?' मित्रलालजीको होटलमा हाँसोका लहरहरू तरंगित भए । दरबानी लाहुने भारतपछि कतारमा बसको पनि ८ वर्ष भइसकेछ । पेसाले उनी रहेछन् हेड-कुक । यसै अभ्यास गर्दागर्दै कुक-कर्ममा उनले अघोषित डाक्टरी पो गरिसकेछन् । यसो हेर्छु, अहिले दलाललाई दस लाख रुपैयाँ तिरेर के-के न गरूँला भन्ने आकांक्षाको वायुपंखी घोडामा सवार भई जापान जान खुट्टो उचालेका छन् उनले । दुःख-जिलो गरेर छोरा-छोरीलाई पढाउन सकेकोमा मेरी बास्सै उनी कतिसाह्रो मखलेल ! बडो सानले भने- 'बाग्लुङमा छोरी प्लस टुमा पढ्दै छे, छोरो बोर्डिङमा कक्षा नौमा घोटिँदै छ । तिनको पढाइ नै मेरो पौरखको फल हो ।'
'अनि, आफूले चाइने कति पढेर छाडिया हो, मित्रलालजी ?' 'गरिबीले गर्दा दुई कलासमा फयल भएर छाड्या क्या ।'
यो 'दुई कलासमा फयल'को कारुणिक कथा पनि उनले हास्य रसमा घोलेरै फर्माए । रोटी र बिफको सुस्वादु भोजनबाट मखलेल हुँदै मित्रलालजीको आतिथ्य ग्रहण गर्न थालियो । हामी मुख मिठ्याउँदै खाँदै छौँ, उनी धाराप्रवाह बोलेका बोल्यै छन् । भारत जानुअघि उनले मसालको झोला भिरेका रहेछन् । अनि, अचेल नि त, मित्रलालजी ? उनको अनुहारमा एकाएक वितृष्णाको धुमिल बादल मडारियो । निधार चाउरी पारेर च्युँडो मुसार्दै भने, 'मसालका दोहोरा कुराले मेरो मन त्यसैत्यसै कुँडियो ।'
'दोहोरा कुरा भन्नु भो ज्यू ?'
'ज्यू-ज्यू । मसालले पहिले चुनाव लड्नु हुन्न, सत्ता जित्नुपर्छ भन्ने मन्त्र सिकायो । पछि आपै+mले थुकेको थुक खाँदै मलाई त चुनाव प्रचारको झोला भिराउन पो खोज्यो बा । अनि, मलाई धत् यस्ता पनि कम्निस्ट भन्ने लाग्यो ।'
'अनि, अचेल कता त, मित्र ?'
'गाउँ-ठाउँको कारणले छनलाई म मसालमै छु । तर, त्यससित मेरो खासै लिनु-दिनु छैन,' यहाँनेर ओठ टोक्दै गमेर उनले भने, 'जे होस्, यो देशमा छिट्टै कसै न कसैले केही गर्छ । प्रचण्डले कि अरू कसैले अहिले भन्न सक्दिनँ ।'
'मित्रलालजी, प्रचण्डले के गरून् भन्ने तपाईँको चाहना छ ?'
यहाँनेर उनी कुराको लिकबाट बत्तिँदै अलिकता बहकिए । झर्रो संस्कृत मिसाएर उनले भने, 'त्यो ...ठ्ठो प्रचण्ड पनि मैजस्तै त हो । त्यो र म दुवै संघर्षबाट आएका छौँ । त्यो र म दुवै झमेलामा जेलिएका छौँ । जापानको बाटो लागेपछि मेरो झमेलो तुरिन्छ । तर, त्यसको झमेलो झनै बढ्छ ।'
एक छाँटका मनुवा रहेछन् वामदेवीय औतारका मित्रलालजी । तिनले हामीलाई निःशुल्क भोजन त गराए नै, त्यो निरस बगरमा एक फाँको मनोरञ्जन पनि गराएरै छाडे । गोर्खेशैलीमा ड्याउ-ड्याउ डकार्दै हाम्रो टोली औद्योगिक क्षेत्र नजर गर्न अघि बढ्यो । जताततै निर्माण कार्य तुफानी वेगमा चलिरहेछ । सडकछेउमा केही नेपालीहरू टाउकामा नातो बाँधेर खल्खली पसिना काड्दै फलाम वाइल्डिङ गरिरहेका छन् । बन्दै गरेका फराकिला सडक किनारमा केही नेपाली कुलेसो खन्नमा मग्न छन् । म दायाँतिर कामदारहरू बस्ने छरिता भुइँतले र दुईतले घुम्ती घरहरू देख्छु । दीपक भन्छन्, 'यहाँ विदेशी कम्पनीहरू तेलका अनमोल सागरमाथि जरा गाडेर बसेका छन् । यहाँ काम गर्ने कामदारहरूलाई अन्त हेरी तैबिसेक राम्रो सुविधा छ ।'
'यहाँको प्राकृतिक सम्पदामाथि अमेरिकी आधिपत्य छ, सर,' कसैले सुन्ला कि भनेर चङ्ख हुँदै देवेन्द्र खुसुक्क भन्छन्, 'यहाँ अमेरिका र तेलको क्या प्रेम बस्या छ बा ।' 'अमर प्रेम, हकि कान्छु ?'
'अमर-समर त्यत्तिकै हो । अमेरिका भँमरो हो । तेलरूपी रस छउन्जेल ऊ बडा प्रमेले चुस्छ । तेल निखि्रएपछि फुस्रा ओठ लिएर अँगालाभरिको राइफल बोकेर सिकारको धुनमा अर्कैतिर टाप ठोक्छ ।'
म तेल सिकारी अनेकथरी सेठहरूका कथा सुन्दै छु । 'यहाँ बेलायत, प|mान्स र क्यानाडा पनि ओठ चाट्दै तेलको रस चुस्न हाजिर छन् । उसो त विश्वको कान्छो बनियाँ जापान पनि यहाँ छ । समुद्रमुनिबाट तेलका खोला बगाउने पाइप यी देशतिर लगिएका छन् । तेल नहुँदो त यी जब्बर सिकारीहरू यो भावर प्रदेशमा किन पो पदार्पण गर्दा हुन् र, सर !?
गाडी मन्दगतिमा गुडिरहेछ । आँखै-आँखाले दायाँ-बायाँका दृश्यहरूका तस्बिर खिच्दै हामी बात मारिरहेका छौँ ।
'बन्दै गरेको त्यो माकुरी जालो के हो, देवेन्द्रबाबु ?'
'त्यो समुद्रको पानी प्रशोधन गर्ने थलो होला, सर ।'
हेर्छु, संरचना एकदमै जटिल छ । भवनको अजंगको कंकाल साँच्चि नै फलामे छडको माकुरे जालोजस्तो छ । कंकालहरू एक हैन अनेक छन् । सडकमुनि अरू त्यस्तै संरचनाहरूको जन्जाल छ । र, केही तल देखिन्छ पट्टेर जंगल ।
'कण, सुख्खा बगरको छातीमाथि के हो त्यो चामत्कारिक रमिता ?'
'त्यो अमेरिकी फौजी अखडाको रसदार हरियाली
हो, सर ।'
कतारको तेल-सागरमाथि अमेरिकाको फौजी अखाडा ? सुनेर मेरो आङ त्यसैत्यसै सिरिङ हुन्छ ।
'त्यो रहस्यको दुलो हो सर, त्यहाँ कोही जान पाउँदैन,' देवेन्द्र बयान गर्छन् । 'त्यहाँ तलबाट ज्यानमारा फाइटर प्लेन ब्रह्माण्ड थर्काउँदै उडेको देखिन्छ । त्यो किन उड्छ कसैलाई थाहा हुँदैन । सके रैथाने स्वामीहरूलाई पनि थाहा हुँदैन होला । गजप छ बा ! देश एउटाको, कब्जा अर्काको । तेल एउटाको, तेलमाथि रजगज राज अर्कैको ।' देवेन्द्रका वचन सुनेर म आपmनै देशको दशाबारे गम खान्छु । कतारको तेलको त्रासद् कथा र हाम्रो पानीको हरिप कथा आखिर उस्तै त हो । हामी हाम्रो पानी हाम्रै हो भन्छौँ, पानी लुटिखाने वेलामा अगाडि अर्कै हुन्छ । हामी हाम्रो देश हाम्रै हो भन्छौँ, हामीलाई गिज्याउँदै हाम्रो सम्प्रभुतामाथि मचक्-मचक् कुल्चिँदै हिँड्ने अर्कै हुन्छ ।
देवेन्द्र मुख मेरा कानैनेर ल्याएर अफ द रेकर्डको भाषामा भन्छन्, 'अरबी तेलको नियन्त्रणमा तलबितल पर्यो भने के होला अनुमान गर्न सक्नुहुन्छ, सर ?'
'के होला, देवन्बाउ ?'
'अरबी भूमिका अनेकथरी ख्वामित्हरू सद्दाम हुसेनको नियति झेल्न अभिशप्त हुनेछन् ।' कुरो चर्को हुँदै गएपछि सम्वादमा मैले लगाम लगाएँ- हउल्ट !