
विख्यात हिन्दी अभिनेता अनील कपुरकी छोरी सोनम कपुरको बलिउड प्रवेशले यस क्षेत्रमा पारिवारिक पृष्ठभूमि बोकेर भित्रिएकाहरूको लम्बेतान सूचीमा अर्का एक नाम थपिदिएको छ । चञ्चल स्वभावकी सोनम जब बोल्न थाल्छिन्, बोलेको बोल्यै गर्छिन् । उनीसँग बलिउड सिने पत्रिका सिनेब्लिट्जका निशी प्रेमले गरेका कुराकानीका केही अंश :
मेरा हजुर-आमाहरूलाई मैले फिल्म खेलेमा मेरो बिहे नहोला कि भन्ने चिन्ता थियो ।
- रणवीर कपुर, दीपिका पादुकोण, र तपाईं लगभग एकैचोटि बलिउडमा आउनुभयो, तर उनीहरू जति चर्चामा छन् तपाईं त हुनुहुन्न नि ?
मलाई लाग्छ चर्चामा रहने सबको आ-आफ्नै तरिका हुन्छ । म एक समयमा यौटै मात्र फिल्म गर्छु । चर्चामा रहनका लागि विवादमा पर्दिनँ । चर्चा कामको हुनुपर्छ भन्ने ठान्छु म । फाल्तु चर्चा मलाई मन पर्दैन । त्यस्तै, मलाई वर्षमा पाँच फिल्म गर्नुपर्ने आवश्यकता छैन । मलाई गाँस, वास र कपासका लागि संघर्ष गर्नुपर्दैन । मलाई घर चलाउनुपर्दैन । म जे चाहन्छु, त्यो गर्छु र जे चाहन्न त्यो गर्दिनँ ।
- तपाईंकी मम्मी कडा स्वभावकी हुनुहुन्छ रे होइन ? तपाईंका ड्याडी पनि तपाईंकी मम्मीका अगाडि चुँक्क गर्न सक्नुहुन्न रे होइन ?
फिल्ममा यौटा निर्देशक हुन्छ । त्यस्तै, मम्मी हाम्रो जिन्दगीको निर्देशक हुनुहुन्छ । घरसम्बन्धी मामिलामा उहाँ, मात्र सही र गलत हेर्नुहुन्छ, अन्य कुरा हेर्नुहुन्न । उहाँ ड्याडी र हाम्रो परिवारकी संरक्षिका हुनुहुन्छ । हाम्री मम्मी केही सवालमा निकै कडा र केही सवालमा नरम पनि हुनुहुन्छ ।
- घरपरिवारको दबाबका कारण तपाईंले कुणाल कपुरसँगको दोस्ती छोडिदिनुभयो भन्ने सुनिन्छ ?
सोह्रै आना गलत ! म त कुणाललाई राम्रोसँग चिन्दा पनि चिन्दिनँ । एक-दुईपटक भेटेँ हुँला उसलाई ।
- तपाईंलाई यस्तो कडा निगरानीमा राखेर पनि तपाईंका बाबु-आमाले कसरी फिल्म क्षेत्रमा जान दिनुभयो ?
उहाँहरूले किन रोक्ने ? तर, पहिला मैले पढाइ पूरा गर्नुपर्छ भन्ने उहाँहरूको मनसाय हो । मम्मीलाई थाहा थियो कि म फिल्म क्षेत्रमा जान इच्छुक छु । म ब्ल्याक फिल्ममा एक वर्ष सञ्जयलीला भंसालीको असिस्टेन्ट डायरेक्टर भएकी थिएँ । मेरा ड्याडी-मम्मी मलाई फिल्म जगत्मा पठाउन राजी भए पनि मेरो घर र मामाघरपट्टिका दुवै हजुरआमालाई भने मैले फिल्म खेले मेरो बिहे नहोला कि भन्ने चिन्ता थियो । मम्मीको चिन्ता भने अर्कै थियो- फिल्मी जगत्को तामझाममा फस्ली कि भन्ने ।
- उर्मिला, तब्बु, सुस्मिता र रानीजस्ता नायिकाहरू घरबार र बालबच्च्ााको झमेलामा फस्न नचाहेजस्तो देखिन्छ । तपाईंको यसमा के विचार छ ?
पुरुषविना महिला अधुरो हुन्छे भन्ने धारणा मलाई मूर्खतापूर्ण लाग्छ । सबभन्दा पहिले महिलाले स्वतन्त्र र आत्मनिर्भर हुनु जरुरी छ । अब एक्लो बस्नु वा नबस्नु आ-आफ्नो मर्जी हो ।
- सांवरियाको सेटमा सञ्जयलीला भंसालीले तपाईंलाई दुःख दिँदा तपाईंका बाबु-आमाले कस्तो प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ?
सञ्जयलीला भंसालीले मलाई दुःख दिनुभएको छैन । उहाँ कडा मिजासको हेडमास्टरजस्तो हुनुहुन्थ्यो । उहाँलाई मबाट अभिनय गराउनु थियो, र उहाँले गराउनुभयो ।
- स्टारको सन्तान हुनु फिल्म क्षेत्रमा फाइदाजनक हुन्छ, हैन ?
हो त ! स्टारको सन्तान भएको कारण फिल्म क्षेत्रमा काम गर्न सजिलो हुन्छ । आफ्ना बाबु-आमाको फाइदा बच्चाले नउठाए कसले उठाउँछ त ?
No comments:
Post a Comment