Sunday, November 8, 2009

जलवायु परिवर्तनको चपेटामा कृषि क्षेत्र

रामचन्द्र अधिकारी
साउनको पहिलो हप्ता भइसक्दा पनि यसपालि खेतमा रोपाइँ जम्न सकेको छैन । खेतमा पसेर काम गर्न तम्तयार किसानहरू अहिले कामविहीन भएर दिन कटाउन विवश छन् । देशमा धान रोप्न योग्य जमिनको आधा क्षेत्र पनि यसपटक रोपिएको छैन । यसका पछाडि एउटै प्रमुख कारण छ - प्रशस्त पानी नपर्नु । असार महिनाका केही दिन हल्का वषर्ा भएपनि त्यसयता खडेरी लागेको छ । त्यतिबेला हिलोमा जोतेकेा खेत र धान रोपेका गह्रा अहिले सुकेर धाँजा फाटेका छन् । खडेरीले हिलो सुकेपछि पुनः पानी परेपनि सो माटो सुधार्न गाह्रो पर्छ । त्यस्तो माटोमा कहिले के रोपेर कति फलाउँने ?
यो अरुथोक केही नभएर जलवायुमा आएको परिवर्तनको प्रभाव हो । जलवायुमा परिवर्तन आएपछि समयमा वषर्ा नहुने, अतिवृष्टि, अनावृष्टि, तथा अनियमित वृष्टि हुने गर्दछन् । यी सबै प्रक्रिया कृषिक्षेत्रका निम्ति प्रलयकारी हुन् । नक्कली र अम्लीय बषर्ा पनि उत्तिकै हानिकारक छन् । नक्कली वषर्ा भन्नाले ठूलो पानी पर्ला झैं हुने तर छिटफुट परेर टर्ने हो । साथै मनसुन सुरु भएजस्तो हुने अनि वषर्ा नै हुन नसक्ने । वायुमण्डलमा धूँवाको ठूलो परिमाण जमेर बस्न थालेकाले आकाशबाट पानी पर्दा धूँवामा भएका सल्फर,नाइट्रोजन र कार्बनका योगिकहरू पानीमा मिसिएर अम्ल बनिन्छ । त्यही अम्ल वषर्ाको रूपमा जमिनमा पर्नुलाई अम्लीय वषर्ा भनिन्छ ।
आवश्यक परेको बेला पानी परेन अथवा अनावश्यक समयमा बढी पर्‍यो भने बालीनाली उब्जाउने सम्भावना कसरी रहन्छ र Û अहिले त्यही भइरहेको छ । असारमा धान रोप्ने समयमा पानी नपर्ने अनि मंसिर- पुसमा चाहिं झ्यार-झ्यार झरी लाग्ने । योभन्दा अभिशाप किसानलाई के हुन सक्छ ?
अहिले विश्वमा खाद्यसङ्कट परेको छ । खाद्यसङ्कट आउनुको कारण जलवायुमा परिवर्तन आई उब्जनी घट्नु नै प्रमुख हो । चालीस बर्षअघि दक्षिण एशियामै प्रमुख अन्न उब्जाउने राष्ट्रमा पर्ने नेपालमा आजकल सबभन्दा कम उब्जाउ हुन्छ ।
जलवायुमा नकारात्मक परिवर्तन आइरहेका छन् भन्ने कुराको प्रमाणसँग हामी साक्षात्कार गरिरहेकै छौ । तीमध्ये केही हुन्- दिन र रातको तापक्रममा उति फरक नपर्नु अथवा राति गर्मी भइरहनु, एकै दिन धेरै पानी पर्नु अनि लामो खडेरी लाग्नु, हिउँ पग्लिएर समुद्रमा पानी बढ्दै जानु, हिमतालका आयतन बढ्नु आदि उल्लेखनीय छन् । जब हिउँ पग्लिएर हिमाल रित्ता बन्छन् तब त्यहाँ बेकामे चिसा मरुभूम्ाि बन्छन् । लामो खडेरी अनि हिउँ सुक्नाले पृथ्वीको जलभण्डार हराउँदै जाने गर्नाले कृषि क्षेत्र नराम्रो गरी प्रभावित बन्दछ ।
जलवायुमा परिवर्तन आएर प्रभाव पारेकै कारण बेमौसमी बालीनाली र फलफूलको त कुरै छोडौंं, मौसमी खेती पनि गर्न नसकिरहेको अवस्था छ ।
भू-उष्णीकरण -जसले जलवायुमा परितर्वन ल्याएको हो) ले गर्दा हरेक वर्ष पृथ्वीको तापक्रम बढ्दै छ । तापक्रम बढेकोले हिमालयको हिउँ पग्लिएर बाढी र पहिलो निम्तिरहेका छन् । बाढीले हरेक बर्ष २५ करोड घनमिटर माटो बगाएर नेपालबाट लैजान्छ । साथै पहाडबाट बगाएर ल्याएको माटो र बालुवाले तराईको खेतीयोग्य जमिन पुरिइरहेको छ । पहाडमा चल्ने पहिरोले ठूला बेसीहरू समेत बगाइरहेको छ ।
जनसंख्या बढिरहेकोे छ तर खेतीयोग्य जमिन घटिरहेकाले उब्जनी राम्रो अनुपातमा बढ्न सकेको छैन । सबै मानिसलाई ख्वाउन र आफ्नो जीवन सुधार गर्न किसानहरूले रासायनिक मल अधिक मात्रामा प्रयोग गर्ने गर्दछन् । यसले दीर्घकालीन फाइदा दिन सक्दैन । अवैज्ञानिक ढंगले प्रयोग गरिने विषादीले वातावरण प्रदूषण गराई जलवायु परिवर्तनलाई बढावा दिन्छ ।
मौसमअनुसारको हावापानी र जलचक्र भएन भने अन्न अनाज बढी उब्जाउने सपना नदेखे हुन्छ । उल्टै असिना पानी, हावाहुरी आदिले फूल, फल सबै नाश पारिदिन सक्छ । जस्तै, फलफूल फूल्ने र फल लाग्ने समयमा अथवा बाली पाकेको बेलामा असिना र हावाहुरी चलिदियो भने किसानले के पाउने ? यो अनिच्छाइएको पीडा विश्वले खेपिरहेको छ ।
जलवायु परिवर्तनले कृषिमा के प्रभाव पार्दाे रहेछ भन्ने कुरामा थाहा पाउन नेपालमा गरिएको एक अध्ययनअनुसार मधेसमा धान, गहुँ, बालीको उत्पादन हरेक वर्ष घढ्दै जाने देखाउँछ । एक दशकअघि तराईको प्रमुख नगदेबालीको रूपमा रहेको सनपाटको उत्पादन पछिल्ला वर्षमा ह्वात्तै घटेको देखिन्छ । यसको कारणहरूमध्येको प्रमुख हिस्सेदार भनेको जलवायु परिवर्तन नै हो । साल प्रतिसाल हानिकारक जीवजन्तु र झारपातको आक्रमण बढ्ने पनि सो अध्ययनले औंल्याएको छ । नभन्दै आजकाल धान खेतमा झारले धेरै आक्रमण गर्न थालेको छ । विदेशी हानिकारक बनमारा झारहरू नेपालका खेतीयोग्य जमिनमा फस्टाइरहेका छन् । विदेशबाट भित्रिएका शंखेकीराको आक्रमण सागसब्जीका बगानमा मात्र हैन गोदाममा समेत खपिनसक्नुको छ । जलवायुविद्हरूले यसलाई पनि जलवायु परिवर्तनको नकारात्मक प्रभावको रूपमा लिएका छन् ।
अधिक गर्मीले धेरै बालीनाली सानो उमेरमै अथवा थोरै अवधिमै पाक्दछन् । जस्तै ः रोपेको दुई/ तीन महिनामै धान, मकै, जस्ता बालीहरू पाक्न थालेका छन् । यो कुरा पोषणको दृष्टिकोणले राम्रो होइन । यस्ता अन्नमा यथेष्ट पौष्टिक तत्व हुँदैन र उति स्वादिष्ट पनि हुन्नन् । तातो भंुग्रोमा पंखाले हम्कदै छिटोछिटो पोलेको र धेरैबेर लगाएर ठीक्क तापमा पोलेको मकैको स्वादमा भिन्नता भएजस्तै हो । समाचारहरूमा आए दार्चुला र डोल्पा जिल्लाहरूमा वैशाखमा पाक्नुपर्ने काफल माघ महिनामै पाक्यो । यसवर्ष तराईमा आँपको उत्पादनमा पूरै गिरावट आयो र समयभन्दा १५/२० दिन अगावै पाके । उत्पादनमा कमी आउनुको कारण कीराको प्रकोप देखाइएको छ तर वातावरणविद्हरूले यसभन्दा पछाडि जलावायु परिवर्तन लुप्त कारण छ । जलवायुमा आएको विषम परिवर्तनले हानिकारक कीटपतङ्लाई उपयुक्त वातावरण बनाइरहेको छ ।
हावापानी परिवर्तन हुँदै जाँदा रैथाने बालीनालीले राम्रो उब्जनी दिन सक्दैन । विस्तारै यी विस्थापित हुँदै जान्छन् । परिवर्तित हावापानीमा बिरुवामा फूल र फल लाग्ने समयचक्र विचलित भई अपेक्षित लाभ लिन सकिन्न । रैथाने जातलाई भन्दा आगन्तुक वा नयाँ जातलाई कीटपतंगले बढी आक्रमण गर्दछन् । एकातिर रैथाने बालीनाली समयअनुसार परिवर्तन भई उत्पादन दिन नसक्नु अर्कातिर आगन्तुकलाई कीराले बढी आक्रमण गर्नु दुवै सन्दर्भले कृषिक्षेत्र अति प्रभावित छ भन्ने जनाउँछन् ।
हावापानीमा हुने गरेको अप्रत्यासित हेरफेरमा संघर्ष गर्न गाह्रो छ । यस्तो वातावरणमा सजाउने बालीनाली, बागवानीको विकास गर्न चानचुने कुरा हैन । यद्यपि कृषि विज्ञानले प्रयास गरिरहेको छ ।
किसानका अभिन्न सहयोगी घरपालुवा, पशुपक्षीहरूमा समेत यो प्रतिकूल जलवायुले नकारात्मक असरहरू पार्दछन् । फलतः पशुउत्पादनमा पनि उल्लेख्य गिरावट आउँछ ।
वर्तमान जलवायुमा नकारात्मक परिवर्तन आइरहेका छन् भन्ने कुराका प्रमाणहरूसँग हामी साक्षात्कार गरिरहेकै छौ । तीमध्ये केही हुन्- दिन र रातको तापक्रममा उति फरक नपर्नु अथवा राति गर्मी भइरहनु, एकै दिन धेरै पानी पर्नु अनि लामो खडेरी लाग्नु, हिउँ पग्लिएर समुद्रमा पानी बढ्दै जानु, हिमतालका आयतन बढ्नु आदि उल्लेखनीय छन् ।

No comments:

Post a Comment